बैंकहरूको प्रतिफल घट्दो लगानी रणनीति कस्तो लिने ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२९ कार्तिक २०८२
काठमाडौं, २८ कात्तिक । नेपालको अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारमा समेत परेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको शेयर बजार पूँजीकरणदेखि कारोबार संख्या, रकम र कारोबारको शेयर संख्या समेत घटेको छ । पछिल्लो समय बैंक, वित्तको शेयर बजार सूचक कमजोर हुनुमा न्यून प्रतिफलदेखि अर्थतन्त्रको सुस्तीको प्रभाव मुख्य कारण रहेका छन् ।
विगत दुई–तीन वर्षयता बैंकहरूको कर्जा विस्तार सुस्त छ । निक्षेप बढेअनुसार कर्जा प्रवाह नहुँदा तरलता व्यवस्थापनमा सकस भएको छ । थुप्रिएको अधिक तरलता न्यून ब्याजदरमा नेपाल राष्ट्र बैंकमा राख्नुपर्ने अवस्था छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा ४३ प्रतिशतले बढे पनि कर्जा नोक्सानी व्यवस्थापन दायित्वका कारण प्रतिफल वितरण क्षमतामा ठूलो सुधार छैन ।
घट्दै गएको स्प्रेड दर, व्यवसाय विस्तारमा शिथिलता तथा सेवा शुल्कमा भएको कमीले पनि बैंकहरूको आम्दानी खुम्चिएको देखिन्छ । बैंकहरूको आम्दानी घट्दा शेयर लगानीकर्तादेखि निक्षेपकर्तासम्म प्रभावित हुन्छन् ।
दीर्घकालीन लगानीका दृष्टिकोणले बैंक, वित्तको शेयरमा गरिने लगानीलाई तुलनात्मक रूपमा राम्रो मानिन्छ । सामान्यतया यस्ता शेयरमा मूल्य धेरै घटबढ नहुने र स्थिर किसिमको प्रतिफलको अपेक्षाले लगानी गरिन्छ । तर घट्दो प्रतिफलको अवस्थाले बैंक, वित्तको शेयरमा आकर्षण देखिएको छैन ।
वित्तीय क्षेत्रमा प्रतिफल घट्दै जाँदा वा प्रतिफल नै नपाउँदा लगानीकर्ताले विकल्प खोज्नु स्वाभाविक हो । तर यो काम सबैका लागि सजिलो भने छैन । अतः लगानी अन्यत्र लगाउँदा वा विविधीकरणमा जाँदा सम्बन्धित कम्पनीका बारेमा पर्याप्त जाने, बुझेर मात्र निर्णय लिनुपर्ने विज्ञ तथा अनुभवी लगानीकर्ताको सुझाव छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार गत आर्थिक वर्षको असोजको तुलनामा चालू आर्थिक वर्षको सोही महीना वाणिज्य बैंकहरूको शेयर बजार पूँजीकरण १६.३४ प्रतिशतले घटेको छ । यसैगरी कारोबार संख्या २५.७७, कारोबार रकम ४५.६२ र कारोबार शेयर संख्या ४१ प्रतिशतले घटेको छ ।
प्रस्तुत छ बिहीबार (हिजो) हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :