काठमाडौं, ३० कात्तिक । चालू आर्थिक बर्ष (आव) २०८२/८३ को पहिलो तीन महिनामा साढे ५ खर्ब बढि विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत साउनदेखि असोजसम्म ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यो गत आवको पहिलो तीन महिनाको तुलनामा ३५ दशमलव ४ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्दै गएपछि उनीहरूले पठाउने रेमिट्यान्स पनि बढ्दै देखिन्छ ।
तथ्यांक अनुसार असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको असोज महिनामा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ दशमलव २ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको तथ्यांक छ ।