काठमाडौं, १ मंसिर । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थिति अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको हो ।
विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको राष्ट्र बैंकले प्रतिवेदनमा भनेको छ । यसले सरकारको वित्तीय सञ्चितिमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
वार्षिक प्रतिवेदन अनुसार, आव २०८१/८२ को विदेशी विनिमय र अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ–हानि समायोजन अघि बैंकको खुद आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भएको हो ।
आइतबार (हिजो) गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका थिए ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ अनुसार बैंकले वासलात, आय–व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिबाट चार महिनाभित्र नेपाल सरकारसमक्ष उक्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । साथै, ऐनको दफा ९३(१) मा बैंकको लेखापरीक्षण, बैंकका कामकारबाही र आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।