चार महिनामा ३ खर्ब आम्दानी हुँदा विकास खर्च २५ अर्ब ६२ करोड मात्रै

अनलाइनसमय |
२ मंसिर २०८२
चार महिनामा ३ खर्ब आम्दानी हुँदा विकास खर्च २५ अर्ब ६२ करोड मात्रै

काठमाडौं २ मंसिर । चालू आर्थिक वर्ष (आव)को पहिलो चार महिना (मंसिर १ गतेसम्म)मा सरकारको विकास खर्च ७ प्रतिशतभन्दा कम भएको छ । गत वर्षको तुलनामा समेत खर्चको अवस्था कमजोर देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर १ गतेसम्म विकास लक्षित पुँजीगत खर्च २५ अर्ब ६२ करोड ९६ लाख रुपैयाँ भएको छ । यो वार्षिक बजेट विनियोजनको ६ दशमलव २८ प्रतिशत हो, जुन गत आवको यसै अवधिको तुलनामा ३ दशमलव ५२ प्रतिशत बिन्दुले कमी हो । सो वर्षको मंसिर १ गतेसम्ममा यस्तो खर्च ९ दशमलव ८ प्रतिशत अर्थात ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँ भएको थियो ।

चालू आवका लागि सरकारले विकास खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने गत आवका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन गरेको थियो ।

आवको पहिलो ४ महिनामा सरकारले चालू खर्च भने गत आवको यसै अवधिको तुलनामा १ दशमलव ६ प्रतिशत बिन्दुले बढि गरेको छ । मंसिर १ गतेसम्ममा ३ खर्ब २१ अर्ब ८९ करोड २४ लाख रुपैयाँ चालू खर्च गरेको देखिन्छ । यो वार्षिक लक्ष्यको २७ दशमलव २६ प्रतिशत हो । गत वर्षको यसै अवधिमा २५ दशमलव ६५ प्रतिशत अर्थात २ खर्ब ९२ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ चालू खर्च भएको थियो ।

२०८२/८३ को लागि सरकारले चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंसिर १ गतेसम्म वित्त व्यवस्थापनतर्फ १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ ।

सरकारको आम्दानी साढे ३ खर्ब
चालू आवको पहिलो चार महिनामा सरकारको आम्दानी ३ खर्ब ३० अर्ब १६ करोड ८९ लाख रुपैयाँ भएको छ । यो वार्षिक लक्ष्यको २२ दशमलव ३१ प्रतिशत हो, जुन गत वर्षको यसै अवधिको तुलनामा शून्य दशमलव ४७ प्रतिशत बिन्दुले कम हो । २०८१ को मंसिर १ गतेसम्म २२ दशमलव ७८ प्रतिशत अर्थात ३ खर्ब २३ अर्ब २७ करोड ७८ लाख रुपैयाँ आम्दानी भएको थियो ।

सरकारले यस वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

यस्तै मंसिर १ गतेसम्म कर राजस्वतर्फ २२ दशमलव ५८ प्रतिशत अर्थात २ अर्ब ८९ अर्ब ९२ करोड ४३ लाख र गैरकर राजस्वतर्फ २४ दशमलव ६९ प्रतिशत अर्थात ३३ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस