काठमाडौं, २ मंसिर । सुदूरपश्चिम प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग करिब साढे ३४ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ३४ दशमलव ४७ प्रतिशत रहेको छ । यो नमुना छनौटमा समेटिएका १३ उद्योगको औसत क्षमता हो ।
समीक्षा वर्षमा कंक्रीट, गहुँको पिठो, चामल उद्योगको अधिकतम क्षमता उपयोग भएको देखिएको छ । त्यसैगरी रोजिन, चिनी, साबुन उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग न्यून रहेको छ । रोजिन उत्पादन गर्ने उद्योग कामदारहरुको अभाव, कच्चा पदार्थ संकलनमा भएको कठिनाई, उद्योग पूर्ण रुपमा सञ्चालन हुन नसकेको कारण उत्पादन न्यून हुन गएको छ ।
पछिल्लो समयमा बजारमा देखिएको शिथिलताका कारण कर्जाको समष्टिगत मागमा कमी आई थप लगानी हुन नसकेकोले औद्योगिक क्षमता र उत्पादन दुवैमा कमी आएको देखिन्छ । अध्ययनमा समेटिएका उद्योगहरुमा प्रत्यक्ष रोजगारी १ हजार ४७७ जना रहेका छन् (३४४ जना भारतीय नागरिक सहित) । रोजगारीमा आवद्ध महिला तथा पुरुषको अंश क्रमशः ९ दशमलव ०१ प्रतिशत र ९० दशमलव ९९ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा समष्टिगत रुपमा मागमा आएको गिरावटले सम्पूर्ण उद्योगहरुको उत्पादनमा ह्रास आएको देखिन्छ । यस अवधिमा गहुँको पीठो ६५ दशमलव ०९ प्रतिशतले, चिनी ६० दशमलव २२ प्रतिशतले, ईटा ४२ दशमलव ८६ प्रतिशतले, साबुन २३ दशमलव ८२ प्रतिशतले, चामल १५ दशमलव २५ प्रतिशतले, रोजिन ६ दशमलव ८६ प्रतिशत, कंक्रिट ६ दशमलव ५९ र तोरीको तेल ४ दशमलव ३५ प्रतिशतले उत्पादनमा ह्रास आएको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार आर्थिक वर्ष २०८१/८२ को चैत्रसम्ममा यस प्रदेशमा १ हजार ६ सय ३१ नयाँ उद्योग दर्ता भएका छन् । यसरी प्रदेशमा स्थापना गरिएका यस्ता उद्योगहरूको सञ्चालनसँगै उत्पादन बढाउन सके सुदूरपश्चिम प्रदेशको औद्योगिक विकासका साथै, रोजगारी सिर्जनामा समेत टेवा पुग्ने देखिन्छ ।
