कोशीको उद्योगहरूको औसत क्षमता उपयोग करिब ५१ प्रतिशत

अनलाइनसमय |
३ मंसिर २०८२
कोशीको उद्योगहरूको औसत क्षमता उपयोग करिब ५१ प्रतिशत

काठमाडौं, ३ मंसिर । कोशी प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग करिब ५१ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा यस प्रदेशका नमुना छनोटमा समेटिएका ४३ वटा उद्योगहरूको औसत क्षमता उपयोग ५० दशमलव ८० प्रतिशत रहेको छ । यो अघिल्लो आव २०८०/८१ को तुलनामा १ दशमलव ७९ प्रतिशत विन्दुले कमी हो । उक्त आवमा उद्योगहरूको औसत क्षमता उपयोग ५२ दशमलव ५९ प्रतिशत रहेको थियो ।

गत आवमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरू क्रमशः टायर तथा ट्यूव, चाउचाउ, तोरीको तेल, र भटमासको तेल उत्पादन गर्ने समूहका उद्योगहरू रहेका छन्भने कम क्षमता उपयोग गर्ने उद्योगहरू वनस्पति घिउ, घरेलु धातुका सामान, साबुन, सिमेन्ट, कच्चा छाला र चामल उत्पादन गर्ने समूहका उद्योगहरू रहेका छन् ।

टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० दशमलव ६७ प्रतिशत रहेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४ दशमलव ३७ प्रतिशत रहेको छ । औसतमा ५० प्रतिशत वा सो भन्दा बढी क्षमता उपयोग गर्ने उद्योग समूहहरू जम्मा १४ वटा रहेका छन् भने ५० प्रतिशत भन्दा कम क्षमता उपयोग गर्ने उद्योग समूहहरू को संख्या जम्मा ११ वटा रहेको छ ।


यस अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरूमा आव २०८०/८१ को तुलनामा गत आव २०८१/८२ मा भटमासको तेलको उत्पादन सबैभन्दा बढी १४४९ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामानको उत्पादन ७४ दशमलव ३ प्रतिशतले घटेको छ ।

वैदेशिक बजारमा भटमासको तेलको माग वृद्धि भएको, भारतले निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको तथा उत्पादन क्षमतामा वृद्वि भएको कारणले गत आवमा भटमासको तेलको उत्पादन उल्लेखनीय मात्रामा बढेको देखिन्छ । मागमा आएको कमी तथा आयातित वस्तुहरूसँग मूल्य प्रतिस्पर्धी हुन नसकेका कारण घरेलु धातुका सामानको उत्पादनमा कमी आएको देखिन्छ ।


औद्योगिक क्षेत्रमा रोजगारीको अवस्था
यस अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरूमा अघिल्लो आव २०८०/८१ मा १६ हजाार ९५८ जना श्रमिक कार्यरत रहेकोमा गत आव २०८१/८२ मा जम्मा १७ हजार ३ सय ३२ जना श्रमिक कार्यरत रहेका छन्, जुन अघिल्लो आवको तुलनामा २ दशमलव २१ प्रतिशतले बढी हो ।

सुनसरी जिल्लामा रहेका उद्योगहरूमा ८ दशमलव ९४ प्रतिशत बढी श्रमिकले रोजगारी पाएका छन् भने मोरङ, झापा र उदयपुर जिल्लामा रहेका उद्योगहरूबाट क्रमशः ४ दशमलव ०७ प्रतिशत, २० प्रतिशत, २४ दशमलव ६२ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।

गत आवमा औद्योगिक रोजगारीमा पुरुषको हिस्सा ६८ दशमलव ४१ प्रतिशत र महिलाको हिस्सा ३१ दशमलव ५९ प्रतिशत रहेको छ । अध्ययन क्षेत्रका उद्योगहरूमा कुल औद्योगिक रोजगारीको ९१ दशमलव ३२ प्रतिशत स्वदेशी र ८ दशमलव ६८ प्रतिशत विदेशी श्रमिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस