काठमाडौं, ३ मंसिर । कर्णाली प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग साढे ४६ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा यस प्रदेशको उद्योगहरूको क्षमता उपयोग ४६ दशमलव ५२ प्रतिशत रहेको छ, जुन अघिल्लो आवको तुलनामा १ दशमलव ९९ प्रतिशत विन्दुले कमी हो । आव २०८०/८१ मा यस्तो क्षमता उपयोग ४८ दशमलव ५१ प्रतिशत थियो ।
समीक्षा वर्षमा बिजुलीका तार र केबल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०प्रतिशत रहेको छ भने सबैभन्दा कम गलैंचा, राडी पाखी तथा जुटका सामान अन्तर्गत गलैंचा उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग २३ दशमलव ०८ प्रतिशत रहेको छ ।

त्यस्तै प्रशोधित दूध, अन्न तथा पशुदाना, चाउचाउ, अन्य लत्ता कपडा, कागज र छालाका जुत्ता उत्पादन गर्ने उद्योगहरुकोक्षमता उपयोग क्रमशः २८ दशमलव ७५ प्रतिशत, ३७ दशमलव ४२ प्रतिशत, ५० प्रतिशत, ८३ दशमलव ३३ प्रतिशत, ६० दशमलव ९५ प्रतिशत र २५ प्रतिशत रहेको छ ।
त्यसैगरी राडी पाखी र चिरेको काठ उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग समान ३३ दशमलव ३३ प्रतिशत रहेको छ ।
जीडीपीमा ९.५८ प्रतिशत योगदान
गत आव २०८१/८२ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको योगदान ९ दशमलव ५८ प्रतिशत रहने अनुमान छ । यस प्रदेशमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिदर ३ दशमलव ५२ प्रतिशत र निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर ३ दशमलव २५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
उद्योग विभागको तथ्यांक अनुसार यस प्रदेशमा रुरुगाड पावर कम्पनी प्रा.लि., सुर्य तारा सिमेन्ट उद्योग प्रा.लि., रारा होल्डिङ्ग प्रा.लि. र स्यार्पु पावर कम्पनी लि. गरी ४ वटा ठुला उद्योगहरु दर्ता भएका छन् ।