काठमाडौं, ३ मंसिर । कर्णाली प्रदेशमा कृषि उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२’ का अनुसार गत अर्थिक वर्ष (आव)मा कर्णाली प्रदेशमा कृषि बालीको उत्पादन ५ दशमलव ०१ प्रतिशतले घटेर १२ लाख ३७ हजार ७२ मेट्रिक टन कायम भएको छ । अघिल्लो वर्षमा यस्तो उत्पादन ८ दशमलव ६३ प्रतिशतले बढेको थियो ।
आव २०८१/८२ मा कर्णाली प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन ३ दशमलव ९५ प्रतिशतले घटेको छ । प्रमुख कृषि बालीमध्ये मकै बालीको उत्पादन ४.२४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, आव २०८०÷८१ मा १२.०४ प्रतिशतले वृद्धि भएको धान उत्पादन आव २०८१/८२ मा १०.२५ प्रतिशतले घटेको छ । सो वर्ष गहुँ १७.३१ प्रतिशत, कोदो १६.७३ प्रतिशत,, जौ ,१८.९८ प्रतिशत र फापरको उत्पादनमा २५.६९ प्रतिशतले कमी आएको छ ।
त्यस्तै, तरकारी तथा बागवानी उत्पादनमा ४.५६ प्रतिशतले कमी आई २ लाख ८९ हजार मेट्रिक टन कायम भएको छ । अघिल्लो वर्षमा यस्तो उत्पादन ४४.०९ प्रतिशतले वृद्धि भएको थियो ।

स्रोत : नेपाल राष्ट्र बैंक
घट्यो क्षेत्रफल
गत आवको असार मसान्तसम्म कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल पनि ६ दशमलव ०८ प्रतिशतले घटेर ३ लाख ७ हजार १९८ हेक्टर कायम भएको छ । गत वर्षमा यस्तो क्षेत्रफल २ दशमलव २१ प्रतिशतले वृद्धि भएको थियो ।
कर्णालीमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ६ दशमलव ०८ प्रतिशतले कमी आएको छ । गत आवमा धान बाली ५.११ प्रतिशत र मकै बाली ४.१६ प्रतिशतले कमी आएको छ । त्यसैगरी, गहुँ, कोदो, जांै र फापर बालीले ढाकेको क्षेत्रफल पनि क्रमशः ४.८६ प्रतिशत, ११.५२ प्रतिशत, १.३९ प्रतिशत र १२.२० प्रतिशतले घटेको छ ।
कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरुमध्ये खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमा सुर्खेतले सबैभन्दा धेरै १९.९८ प्रतिशत र हुम्ला जिल्लालेसबैभन्दा कम २.२९ प्रतिशत हिस्सा ओगटेको छ ।

स्रोत : नेपाल राष्ट्र बैंक