काठमाडौं, ४ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को असोजसम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या पौने ३ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू (आव) मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८४ लाख १८ हजार पुगेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ३३ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ५५ लाख २४ हजार थिए ।
पछिल्लो महिना असोजमै १ लाख ७८ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । गत भदौमा यस्ता प्रयागकर्ता २ करोड ८२ लाख ४० हजार थिए ।
यस्तै चालू आवको तीन महिनासम्ममा इन्टरनेट बैंकिङ सेवा २३ लाख २६५ प्रयोगकर्तामा पुगिसकेको छ, जुन गत वर्षको असोजसम्मको तुलनामा १३ दशमलव ५० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा २० लाख २६ हजार ५६५ प्रयोगकर्तामा इन्टरनेट बैंकिङको पहुँच पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवको तीन महिनामा डेबिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड ३१ लाख ६१ हजार रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा ४ दशमलव ९३ प्रतिशतले बढेर १ करोड ३८ लाख १० हजार पुगिसकेको छ ।
असोजसम्ममा क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः ३ लाख २२ हजार ९४१ र २ लाख ६१ हजार २३९ पुगेको छ । सो अवधिमा ५ हजार २८२ एटिएम रहेका छन् ।
हाल ५४ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ५२६ वटा शाखा कार्यालय छन् । सो अवधिमा ६ करोड ६ लाख ९१ हजार ९५६ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।