काठमाडौं, ४ मंसिर । नेपालको कुल वैदेशिक रोजगारीमा कर्णाली प्रदेशको हिस्सा करिब ४ प्रतिशत मात्र रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२’ का अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा वैदेशिक रोजगारीको लागि स्वीकृति प्रदान गरिएको कुल संख्यामा कर्णाली प्रदेशको हिस्सा ३ दशमलव ७८ प्रतिशत रहेको छ ।
‘वैदेशिक रोजगारीबाट स्वदेश फर्किने श्रमिकहरु मध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिने गरेका छन् भने केही वैदेशिक रोजगारीबाट सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगार कार्यमा संलग्न रहेको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुनाले वर्षेनि भरपर्दो आयआर्जनको खोजीको शिलशिलामा विदेशिने नेपालीहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।’
गत आवमा कर्णाली प्रदेशबाट २० हजार ८८६ जनाले नयाँ श्रम स्वीकृत र २८ हजार ५८ जनाले पुनः श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो वर्षको तुलनामा नयाँ श्रम स्वीकृति १६.०६ प्रतिशत र पुन श्रम स्वीकृति ११.८७ प्रतिशतले बढि हो ।
नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) को प्रतिवेदन अनुसार कर्णाली प्रदेशको गरिबीको दर २६.६९ प्रतिशत रहेको छ । नेपाल श्रमशक्ति सर्वेक्षण २०७५/०७६ को प्रतिवेदन अनुसार कर्णालीमा बेरोजगारी दर ९ दशमलव ७ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार यस प्रदेशमा आर्थिक रुपले सक्रिय (उमेर १० वर्ष वा सो भन्दा माथि) जनसङ्ख्या ७१ दशमलव ६५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कर्णाली प्रदेशमा ७ हजार १५६ जनाले रोजगारी प्राप्त गरेका छन् । रोजगारीमा खटिएकामध्ये सबैभन्दा बढी कालिकोटमा १ हजार २२७ जनाले रोजगारी प्राप्त गरेका छन् भने सबैभन्दा कम मुगुमा ४७३ जनाले रोजगारी प्राप्त गरेका छन् । समीक्षा वर्षमा यस प्रदेशमा सूचीकृत बेरोजगार व्यक्तिको संख्या २ लाख ८ हजार ३५३ रहेका छन् भने कुल आयोजना संख्या ९५० रहेका छन् ।