काठमाडौं, ५ मंसिर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाले दिएको मसौदा शान्ति योजनामा ‘इमानदार रूपमा काम गर्न’ आफू तयार रहेको बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त योजनामा युक्रेनले डोनबास क्षेत्रका बाँकी भाग त्याग्नुपर्ने, सेना संख्यामा कटौती गर्ने र नाटोमा नजाने वाचा गर्नुपर्ने प्रस्ताव छ ।
यस योजना बनाउने प्रक्रियामा युक्रेन कति सम्म संलग्न थियो भन्ने स्पष्ट नरहेको बीबीसीले उल्लेख गरेको छ । तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका दुवै पक्षसँग बराबरी रूपमा छलफल गर्दै आएको बताइन् ।
जेलिन्स्कीको कार्यालयले पनि एक वक्तव्य जारी गर्दै न्यायपूर्ण शान्ति ल्याउने गरी योजनाका प्रावधानहरूमा काम गर्न सहमति भएको जनाएको छ ।
फाइनान्सियल टाइम्स र एक्सियोसद्वारा पूर्ण रूपमा प्रकाशित योजनाको मस्यौदा अनुसार युक्रेनको सेना ६ लाखमा सीमित हुनेछ, तर युरोपेली लडाकु विमानहरू पोल्याण्डमा तैनाथ गरिनेछ ।
योजनाका मुख्य बुँदाहरू
— युक्रेनी सेनाको संख्या ६ लाखमा सीमित राख्ने
— पोल्याण्डमा युरोपेली लडाकु विमान तैनाथ गर्ने
— युक्रेनलाई ‘विश्वसनीय सुरक्षा ग्यारेन्टी’ दिने
— रुसमाथिको प्रतिबन्ध हटाउने र फेरि जी ७ मा फर्काउन प्रस्ताव गर्ने
यी प्रावधानहरूले मस्कोको हित बढी देखिएको विश्लेषकहरूले बताइरहेछन् । यद्यपि जेलिन्स्कीले केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसबारे थप कुरा हुने बताएका छन् ।
तर ह्वाइट हाउसले भने यो योजना युक्रेनलाई ठूलो सम्झौता गर्न बाध्य बनाइने दाबीलाई अस्वीकार गरेको छ ।
अमेरिकी दूत स्टिभ विट्कफ र विदेश सचिव मार्को रुबियोले एक महिनादेखि दुवै पक्षसँग छलफल गर्दै योजना बनाएको बताइएको छ ।