काठमाडौं, १० मंसिर । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पछिल्ला महिनाहरूमा विरगञ्ज भन्सारबाट हुने निर्यात घट्दै गएको छ । साउनदेखि कात्तिकसम्म निर्यात रकम निरन्तर घट्दै जाँदा चार महिनाको अवधिमै ३० दशमलव ६८ प्रतिशतले संकुचन भएको तथ्यांकले देखाउँछ ।
यस भन्सार कार्यालयका अनुसार साउन महिनामा ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा भदौमा १० दशमलव ०५ प्रतिशतले घटेर ८ अर्ब ५९ करोडमा सीमित भयो । भदौबाट असोजमा भने घट्ने दर तुलनात्मक रूपमा न्यून रह्यो । असोजमा ८ अर्ब ४५ करोड रुपैयाँको निकासी भयो, जुन भदौको तुलनामा १ दशमलव ६३ प्रतिशतले मात्र कम हो ।
यद्यपि असोजको तुलनामा कात्तिकमा २१ दशमलव ६६ प्रतिशतले निर्यात घटेर ६ अर्ब ६२ करोड रुपैयाँमा खुम्चिएको छ ।
निर्यात स्थिति (रू.करोड)

यता गत आवको पहिलो चार महिनाको तुलनामा भने चालू आवको सोही अवधिमा १४३ प्रतिशत अर्थात १९ अर्ब ५७ करोड रुपैयाँले निकासी बढेको छ । गत कात्तिकसम्ममा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरको सामान निकासी भएको छ भने गत वर्षको सोही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँको मात्र भएको थियो ।
तथांक अनुसार चालू आवको पहिलो ४ महिनामा यस भन्सार कार्यालयले ३ खर्ब १८ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा २४ दशमलव ९० प्रतिशत बढि हो । सो आवमा २ खर्ब ५४ अर्ब ६७ करोड रुपैयाँको व्यापार भएको थियो । २०८२ को कात्तिकसम्ममा २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात गरिएको छ ।