काठमाडौं, १५ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले गलत सूचना प्रवाहकै कारण समाजमा हिंसा बढ्नुका साथै दुई देशबीचको कूटनीतिक सम्बन्धसमेत प्रभावित हुन सक्ने भएकाले जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औं वार्षिकोत्सवमा बोल्दै उनले हालै भएको जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण गलत सूचनाको परिणाम भएको उल्लेख गरे । ‘आजभन्दा दुई सय वर्षअघि आन्दोलन हुँदा निजी क्षेत्रमाथि आक्रमण हुँदैनथ्यो, अहिले किन भयो त भन्दा गलत सूचनाको कारणले भयो,’ उनले भने, ‘कतिपय अवस्थामा सूचना सत्य नै हो भने पनि त्यसको प्रभाव के पर्छ भनेर बुझ्नुपर्ने हुन्छ ।’
अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय सम्बन्धलाई असर पार्ने सूचना प्रकाशनअघि परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयसँग अनिवार्य रूपमा भेरिफिकेसन गर्न आग्रह गरे । ‘सरकारले २० लाख पर्यटक ल्याउँछ भन्दा मात्रै पर्यटन व्यवसायीले अर्बौं रुपैयाँ लगानी गरेका छन्, आजको दिनमा सरकारले यो क्षेत्रमा लगानी गर सम्भावना छ भन्यो भने निजी क्षेत्रले लगानी गर्छ,’ उनले बताए ।
फरक प्रसंगमा उनले राजनीतिक दबाबका आधारमा स्रोतको सदुपयोग नहुने गरी राखिएका आयोजनाहरू हटाइएको जानकारी दिँदै राष्ट्रिय प्राथमिकताका उच्च महत्त्वका आयोजनामा बजेट बढाइएको र ती द्रुत गतिमा अगाडि बढिरहेको बताए ।
मौद्रिक नीतिको प्रभावकारी ट्रान्समिसन हुन सकेको छैन : गभर्नर पौडेल
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकले ल्याएका नीतिहरूको प्रभावकारी ट्रान्समिसन हुन नसकेको स्वीकार गरेका छन् । सो कार्यक्रममा बोल्दै गभर्नर पौडेलले मुलुकको मुख्य समस्या अधिक तरलता रहेको र त्यसलाई व्यवस्थापन गर्न नसक्दा अन्य क्षेत्रमा असर परिरहेको बताए ।
‘राष्ट्र बैंकले ल्याएका नीतिको ट्रान्समिसन भएको छैन, मध्यम उद्योगलाई प्रोत्साहन गरे पनि त्यसमा कर्जा बढेको छैन, वैदेशिक रोजगारीमा जानेको हकमा गरेको व्यवस्था पनि पूर्ण रूपमा लागू भएको छैन,’ उनले भने, ‘बैंकको नीति र मौद्रिक नीतिबीच तालमेल मिलेको छैन, यस विषयमा बैंकका सीईओहरुसँग अर्को हप्ता छलफल गर्नेछु ।’
उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा केही लचिलो बनाइएको जानकारी दिँदै यस समीक्षा सीमित दायराभित्र रहेर गरिएको स्पष्ट पारे । ‘त्रैमासिक समीक्षा भएकाले धेरै परिवर्तन सम्भव थिएन, तर जति गर्न सकिन्थ्यो त्यो गरिएको छ,’ उनले भने ।

निजी क्षेत्रको विश्वास अभिवृद्धिमा सरकार प्रतिबद्ध : मन्त्री सिन्हा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास अभिवृद्धि, लगानी सुरक्षा र लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
मन्त्री सिन्हाले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिने सरकारको नीतिअनुसार सरकारी कार्यपद्धति र नीतिगत सुधारलाई तीव्र बनाइएको जानकारी दिए ।
‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरी सरकारी नीतिगत र कार्यपद्धति दुवैमा सुधार गर्न प्रतिबद्ध मात्रै रहेका छैनौँ, त्यही दिशामा हामीले कार्यहरू अगाडी बढाएका पनि छौँ,’ उनले भने, ‘अहिलेको सरकारले जेनजी आन्दोलनको मर्मलाई केन्द्रमा राखेर आफ्नो कार्य गरिरहेको समेत जानकारी गराउँछु ।’
उनले वर्तमान सरकारको मुख्य दायित्व तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको भन्दै सरकार सुशासन र समयमै निर्वाचन गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
