काठमाडौं, १६ मंसिर । दुई छिमेकी मुलुक भारत र चीनबाट पर्यटकको आगमन निरन्तर घट्दै गएको छ । गत वर्षको तुलनामा भारतीय पर्यटक ४ दशमलव ०६ प्रतिशतले घटेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को नोभेम्बरमा १८ हजार ९९५ भारतीय पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्षको सोही महिनामा भारतबाट १९ हजार ९१५ पर्यटकको आगमन भएको थियो ।
सन् २०१९ को नोभेम्बरमा १९ हजार ६७९ भारतीय पर्यटक नेपाल आएका थिए । पछिल्लो वर्ष कोभिड १९ ले भारतबाट आउने पर्यटक ठप्प थियो । २०२१ को नोभेम्बरमा केही सुधार देखिएको भारतीय पर्यटक आगमन २३ सम्म बढ्दो क्रममा थियो । तर, तीन वर्ष यता भारतीय पर्यटक निरन्तर घटिरहेको तथ्याङ्कले देखाउँछ ।

त्यस्तै, चीनबाट आउने पर्यटकमा पनि गत वर्षको तुलनामा १६ दशमलव ८ प्रतिशतले घटेको छ । यस वर्षको नोभेम्बरमा चीनबाट ७ हजार ८७१ पर्यटक नेपाल आएका छन् । गत वर्षको यसै महिनामा चीनबाट ९ हजार ४५० पर्यटकको आगमन भएको थियो ।
यसैगरी , २०२५ को ११ महिनामा कुल १० लाख ६० हजार २६९ पर्यटक हवाई मार्ग हुँदै नेपाल घुम्न आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ४ प्रतिशतले बढि हो । २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५२० विदेशी पर्यटक आगमन भएको थियो ।
नोभेम्बरमा मात्र नेपालमा १ लाख १६ हजार ५ सय ५३ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२४ को नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५ सय १ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

११ महिनामा सार्क क्षेत्रबाट ३ लाख ६८ हजार ३८१ पर्यटक नेपाल आएका छन् । गत वर्ष सन् २०२४ को यसै अवधिमा ३ लाख ८३ हजार ४६६ पर्यटक यस क्षेत्रबाट आएका थिए ।
अन्य एसियाली मुलुकबाट ११ महिनामा २ लाख २५ हजार पर्यटक भित्रिएका छन्, जुन सन् २०२४ को तुलनामा ०.२ प्रतिशत बढि हो । त्यस्तै, अष्ट्रेलिया/न्यूजिल्याण्डबाट ४८ हजार ४३० जना पर्यटक आएका छन् भने अमेरिकी पर्यटक १ लाख २७ हजार १३७ आएका छन् ।
मध्यपूर्वी क्षेत्रबाट १९ हजार ५७५ पर्यटक आएका छन्, जुन २०२४ को तुलनामा २३.८ प्रतिशतको सुधार हो । अफ्रिकाबाट ३ हजार ८९१ जना पर्यटक नेपाल आएका छन्, यो ४.९ प्रतिशतले घटेको हो । त्यस्तै अन्य क्षेत्रबाट ५७ हजार ७८३ पर्यटक आएको बोर्डले जनाएको छ ।