काठमाडौं, १७ मंसिर । नेपालस्थित पाकिस्तानका राजदूत महामहिम अब्रार एच हासमीले लुम्बिनी र भरतपुरको भ्रमण गरेका छन् ।
नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म गरेको भ्रमणमा हासमीले लुम्बिनीमा भगवान बुद्धको जन्मस्थलमा श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसक्रममा उनले लुम्बिनी विकास कोषका प्रतिनिधि तथा कार्यवाहक मेयरसँग भेटवार्ता समेत गरेका थिए । भेटमा नेपाल–पाकिस्तानबीच सांस्कृतिक, परम्परा संरक्षण र नागरिकस्तरको सम्बन्ध विस्तारबारे कुराकानी भएको दूतावासले जनाएको छ ।
त्यसैगरी, भरतपुरमा राजदूत हासमीले भरतपुर आँखा अस्पताललाई कागजरहित डिजिटल प्रणालीमा रूपान्तरण गर्न सहयोग स्वरूप एक चेक हस्तान्तरण गरेका थिए । पाकिस्तानका जनताबाट प्रदान गरिएको यो सहयोगले अस्पतालमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली विकास गर्न, प्रशासनिक तथा क्लिनिकल सेवा पूर्ण रूपमा डिजिटलाइज गर्न मद्दत गर्ने बताइएको छ ।

राजदूत हासमीले पाकिस्तानले १९८७ मा पाकिस्तानस्थित बीसीसीआई फाउण्डेसनको आर्थिक सहयोगमा निर्माण गरिएको यस अस्पतालसँग लामो समयदेखिको सहकार्य इतिहास रहेकाले यसप्रति निरन्तर योगदान दिंदै आएको उल्लेख गरे । पछिल्ला वर्षहरूमा पाकिस्तानले अस्पतालमा फार्मेसी, अपरेशन थिएटर, आउटरिच, एम्बुलेन्स तथा आँखासम्बन्धी तालिम–सहकार्य कार्यक्रमहरू थपिएको उनले समेत बताए ।
त्यस्तै, स्वास्थ्य क्षेत्रको सहकार्य नेपाल–पाकिस्तान सम्बन्धको महत्वपूर्ण आधार रहेको र यस प्रकारका सहयोगले जनमुखी विकास तथा क्षेत्रीय हितप्रति दुवै देशको साझा प्रतिबद्धता झल्किनेमा हासमीले जोड दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयाराम श्रेष्ठ र प्रमुख मेडिकल अधिकृत डा. पुष्पा गिरीले पाकिस्तानका जनताप्रति निरन्तर सहयोग र स्वास्थ्य सेवा आधुनिकिकरणमा पु¥याएको योगदानका लागि गहिरो कृतज्ञता व्यक्त गरे ।

दूतावासले भरतपुर गार्डेन होटलमा भोजसमेत आयोजना गरेको थियो, जसमा अस्पताल व्यवस्थापन, चिकित्सक, जिल्ला प्रशासन, स्थानीय समाजसेवी, उद्योग–व्यवसायी तथा पाकिस्तानमा शिक्षा प्राप्त गरेका नेपाली पूर्वविद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
राजदूत हासमीले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसको पनि अवलोकन गर्दै त्यहाँका शिक्षक–विद्यार्थीसँग अन्तक्र्रिया गरेका थिए । उक्त कलेजले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्दै आएको छ ।
