काठमाडौं, १८ मंसिर । आज अन्तर्राष्ट्रिय बैंक दिवस नेपालसहित विश्वभर मनाइँदै छ । यस्तै, आज एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर रहेका संघको सदस्य राष्ट्रहरूले विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।
संयुक्त राष्ट्र संघको महासभाले २०१९ मा अन्तर्राष्ट्रिय बैंक दिवस मनाउने निर्णय गरेको थियो । जसको पहिलो उत्सव डिसेम्बर ४, २०२० मा मनाइएको थियो । संयुक्त राष्ट्र संघको महासभाले डिसेम्बर १९, २०१९ मा एक प्रस्ताव पारित गरेको थियो, जसमा डिसेम्बर ४ लाई यो दिवस मनाउने वार्षिक मिति तोकिएको हो ।
महासभाले सदस्य देशका जनताको जीवनस्तर सुधार गर्न बैंकिङ प्रणालीको महत्त्वपूर्ण भूमिका रहेको ठहर गर्दै यो दिवस मनाउने निर्णय गरेको हो । साथै बैंकिङ क्षेत्रप्रति ध्यान केन्द्रित गराउन तथा आर्थिक स्थिरता र विकासमा यसको भूमिकालाई उजागर गर्न स्थापित गरिएको हो । ऐतिहासिक रूपमा, बैंक तथा वित्तीय संस्थाहरू ठूला परियोजनाहरू तथा ऊर्जा–दक्ष योजना तथा सामाजिक कार्यक्रमहरूलाई वित्त उपलब्ध गराउने मुख्य आधार बनेका छन् ।
यो उत्सवले दिगो विकासमा बैंकिङ प्रणालीले कसरी योगदान पुर्याउँछ भन्ने कुरामा जोड दिन्छ । पूर्वाधार, सामाजिक सेवा र नवीन परियोजनाहरूमा लगानी गरेर बैंकहरूले राष्ट्रहरूलाई दीर्घकालीन आर्थिक प्रगति हासिल गर्न मद्दत गर्छन् ।
अन्तर्राष्ट्रिय बैंक दिवसले मानिसहरूलाई यी संस्थाहरूले दैनिक पैसा लेनदेनहरू गर्ने मात्र नभई राष्ट्र र विश्वव्यापी विकासको लागि महत्त्वपूर्ण रहेको स्मरण गराउँछ ।
यसैगरी एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि यसै वर्षदेखि मनाउन सुरु गरिएका हो । राष्ट्रसंघीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो ।
यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।