काठमाडौं, १८ मंसिर । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो चार महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय करिब १६ अर्ब नाघेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको कात्तिकसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरू र चार लघु बीमकले १६ अर्ब २१ करोड ४७ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ४२ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्ममा यी कम्पनीले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
चालू आवको कात्तिकसम्ममा १४ निर्जिवन कम्पनीले १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँको र चार लघु बीमक कम्पनीले ३६ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
कात्तिकसम्ममा १० लाख ३१ हजार ९७१ वटा बीमालेख जारी भएको छ । त्यस्तै, कात्तिक महिनामा मात्रै ३ अर्ब २९ करोड १ लाख रुपैयाँको व्यवसाय भएको छ ।
निर्जीवन बीमा व्यवसाय गर्ने १४ कम्पनीमध्ये सबैभन्दा अगाडि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले चालू आवको कात्तिकसम्ममा १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
सगरमाथा लुम्बिनीपछि सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा कम्पनीले सो अवधिमा १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै सानिमा जिआईसीले १ अर्ब २ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५४ करोड, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड तथा युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेका छन् ।
अन्य बीमा कम्पनीहरूमध्ये एनएलजी इन्स्योरेन्सले १ अर्ब २६ करोड, प्रभु इन्स्योरेन्सले ६५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड, नेशनल इन्स्योरेन्सले ५० करोड, राष्ट्रिय बीमा कम्पनीले ४३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड र नेपाल इन्स्योरेन्सले ८६ करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।
यसैगरी, लघु बीमकको व्यवसाय गत आवको कात्तिकसम्मको तुलनामा ४० दशमलव २० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यी चार कम्पनीले २६ करोड १४ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।
कात्तिकसम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै ९ करोड ६९ लाख बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सले ९ करोड ६७ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ४३ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ७ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।