काठमाडौं, १८ मंसिर । अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चल्ने भएको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा १०० भारुभन्दा माथि दरका नोटमा लगाएको प्रतिबन्ध राजपत्रमा हटाएको हो ।
हाल भारतमा ठूला दरका १ सय, २ सय र २ हजार दरका नोट चलनचल्तीमा भए पनि नेपालमा भने एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । सन् २०२३ देखि भने २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ ।
भारतले यो व्यवस्था गरेसँगै अब १०० दरका नोटसँगै ठूला दरका भारु चलाउने उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र (निर्देशन) जारी गर्नुपर्नेछ ।
राष्ट्र बैंकले परिपत्र जारी गरेपछि मात्र नागरिकले ठूला दरका भारु चलनचल्तीमा ल्याउन पाउनेछन् । राष्ट्र बैंकको निर्देशनकै कारण हाल एक सयभन्दा ठूला दरका भारु चलनचल्तीमा छैनन् ।
त्यस्तै भारतले भारु २५ हजारसम्म नेपाल र भुटान ल्याउन÷लैजान अनुमति दिएको छ । यसअघि भारु २५ हजारसम्म भारतबाट ल्याउन अनुमति भएपनि लैजान पाउने व्यवस्था थिएन ।
भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो । ठूला दरका नोटहरु बढी तस्करी हुने भएकाले भारतीय पक्षले आन्तरिक सुरक्षाका लागि भन्दै नोटबन्दीपछि नेपालमा ठूला दरका नोट ल्याउन प्रतिबन्ध लगाएको थियो ।