काठमाडौं, २१ मंसिर । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि खुला गरेको आईपीओमा आवेदन दिन आज (मंसिर २१) अन्तिम मौका रहेको छ । कम्पनीले मंसिर ७ गतेदेखि स्थानीय तहमै आईपीओ बिक्री खुला गरेको थियो ।
१० अर्ब रुपैयाँ जारी पूँजीमा कम्पनीलाई २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयर बिक्रीको अनुमति प्राप्त छ । यसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ दरका १ करोड कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि छुट्याइएको छ ।
उक्त शेयरमध्ये सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित बासिन्दालाई ४० लाख कित्ता छुट्याइनेछ । बाँकी ६० लाख कित्ता भने सो क्षेत्रका अन्य वडामा बस्ने स्थानीयवासीका लागि वितरण गरिनेछ ।
आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराइएको मूल्यांकनमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल–बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीले दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।