काठमाडौं, २२ मंसिर । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ ।
नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने तथा ढुवानीका साधन संचालन गर्नु पर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो ।
सडक आयोजनाले निकालेको सूचनाअनुसार नागढुंगाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म आवागमन बन्द हुनेछ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सडक आयोजनाले आग्रह गरेको छ ।
त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । काठमाडौं जिल्ला भित्रपर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिनेछ । त्यस्तै, िमुग्लिङबाट काठमाडौंतर्फ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ ।
अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन भने ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।
यो अवधिमा सीतापाईला भिमढुंगा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।
