आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर

अनलाइनसमय |
२३ मंसिर २०८२
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर

काठमाडौं, २३ मंसिर । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आगामी पुस ३ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस १७ र ढिलोमा माघ २ गते हुनेछ ।

यस्तै, एक लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । उनीहरूले पनि न्युनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुका लागि निष्काशन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस