गृहमन्त्री अर्यालसँग भारतीय अतिरिक्त सचिव महावरको भेट, निर्वाचनमा सघाउने प्रतिबद्धता

अनलाइनसमय |
२३ मंसिर २०८२
गृहमन्त्री अर्यालसँग भारतीय अतिरिक्त सचिव महावरको भेट, निर्वाचनमा सघाउने प्रतिबद्धता

काठमाडौं, २३ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा मङ्गलवार भएको भेटमा सचिव महावरले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव महावर नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् ।

त्यस्तै, भेटमा अतिरिक्त सचिव महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विभिन्न विपदबाट क्षति भएका संरचनाहरूको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए ।

भेटकै क्रममा गृहमन्त्री मन्त्री अर्यालले दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणको कामलाई पनि तीव्रता दिन आग्रह गरे ।

साथै, सीमा क्षेत्रमा हुने अपराध, चोरी डकैती, अवैध वस्तु व्यापारको ओसारपसारमा नियन्त्रण र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै पक्षका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनु पर्नेमा गृहमन्त्री अर्यालले जोड दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस