काठमाडौं, २१ वैशाख । माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
यसैबीच ७३ वर्षीय एक वृद्धा यस वर्षको परीक्षामा सहभागी भएकी छन् । काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले आइतबार परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत छिन् ।
प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यामिक विद्यालयबाट उर्तीण गरेकी थिइन् ।
यस वर्षको कक्षा १२ को परीक्षा देशभरका पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परिक्षा दिइरहेका छन् । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् । त्यस्तै आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना सहभागि छन् ।
परीक्षामा देशभर १ हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । सबैभन्दा बढी काठमाडौँमा १६२ र सबैभन्दा कम मनाङ–मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको छ । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी रहेका बोर्डले जनाएको छ । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । परिक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । तस्बिर रासस