काठमाडौं, २२ वैशाख । पश्चिमी वायुको प्रभावका कारण आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कैलाली, बर्दिया, बाँके आसपासका थोरै क्षेत्रहरूमा चट्याङ्ग सहित पानी परिरहेको छ । अहिले उक्त पानी पर्ने प्रणाली उत्तर–पूर्वतिर सरिरहेको छ ।
यसले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन आग्रह विभागले आग्रह गरेको छ ।
विभागले सूचनामा भनेको छ, ‘हाल पानी पर्ने प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेकोले अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु होला ।’
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यो क्रम रातिसम्म जारी रहनेछ ।