काठमाडौं, २२ वैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी विद्यार्थी प्रिसा साहबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सरकारलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आकस्मिक समयमा प्रिशाको मृत्युलाई लिएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।
वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय शाह स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् । परीक्षा अवधिमा होस्टेल बस्दै आएकी उनको शव गत बिहीबार साँझ होस्टेल कोठामै झुण्डिएको अवस्थामा फेला परेको थियो । यो विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको सभामुख घिमिरेले बताएका छन् ।
‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’, सभामुखले भने ।
साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलका लागि पनि सभामुख घिमिरेले अपिल गरेका छन् ।