रेशम चौधरी पक्राउबारे बिहीबार गृहमन्त्रीले संसद्मा जवाफ दिने

अनलाइनसमय |
२३ वैशाख २०८२
रेशम चौधरी पक्राउबारे बिहीबार गृहमन्त्रीले संसद्मा जवाफ दिने

काठमडौं, २३ वैशाख । गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउबारे जानकारी गराउने भएका छन् ।

मंगलबार प्रतिनिधि सभामा नाउपा जनमत पार्टीका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोजेका थिए । सभामुखले रुलिङ गर्नुपर्ने उनीहरूको माग थियो ।

त्यसक्रममा सभामुख देवराज घिमिरेले रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई सुनाए ।

आजको बैठक सुरू हुनेबित्तिकै जनमत र नाउपा सांसदहरू उठेका थिए । सभामुख देवराज घिमिरेले नाउपा सांसद रञ्जिता श्रेष्ठलाई बोल्न समय दिए । नाउपा अध्यक्षसमेत रहेकी श्रेष्ठले चौधरीलाई प्रशासनिक मनोमानीका आधारमा पक्राउ गरिएकोले छानबिन हुनुपर्ने बताइन् ।

यसपछि आकस्मिक र शून्य समयमा सांसदहरूले विभिन्न विषयमा कुरा राखे । सभामुख घिमिरेले नीति तथा कार्यक्रम छलफल कार्यसूचीमा प्रवेश गर्नै लाग्दा फेरि जनमत र नाउपाका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरे । विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

तर, उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले जबाफ दिने मौखिक जानकारी प्राप्त भएको जानकारी गराएपछि सांसदहरू बसेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस