काठमाडौं, २३ वैशाख । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । रोगले शिथिल बनाउँदै लगेपछि उनी पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।
केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।
उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । त्यस्तै २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए ।
नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले ’बर्बरिक’ उपन्यास लेखेका छन् । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।