स्वालम्बन लघुवित्तमा आबद्ध अमृताले पसल व्यवसायमा पाएको सफलता (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२७ वैशाख २०८२
काठमाडौं, २७ वैशाख । काठमाडौंको केन्द्रबाट करीब ९ किलोमिटर दूरीमा पर्ने एउटा आवासीय क्षेत्र । प्रायः व्यस्त रहने सडकको छेउमा एउटा ठूलो पसल छ, यहाँ के छैन ? सबथोक छ । बच्चादेखि युवा, प्रौढ र वृद्धसम्म, पेशाकर्मीदेखि गृहिणीसम्म, मानिस मात्र होइन, देवताका लागि समेत चाहिने वस्तु (पूजा सामग्री) यहाँ छन् । उपभोग्य वस्तुको विविधता र ग्राहकको भीडभाड देख्दा यस्तो लाग्छ, यहाँ नपाइने के होला ? एकै ठाउँमा सबै चिज पाइने भएकै कारण ग्राहकलाई दशतिर भौतारिनुपरेको छैन, जसबाट उनीहरूको समय र लागत बचेको मात्र छैन, सन्तुष्टि पनि बढेको छ ।
यो कुनै व्यापारिक प्रचार होइन, यो त हो– स्वरोजगार, आत्मनिर्भरता र स्वावलम्बन यात्राको सानो दृश्य । यो हो– महिला उद्यमशीलता, लघुवित्तको कर्जा सदुपयोग र व्यवसायको सुन्दर उदाहरण । र, यसको सारथी बनेकी छिन् अमृता बानिया भट्टराई, जसले समुदाय र उद्यम क्षेत्रमा आफ्नो पृथक् परिचय बनाएकी छिन् ।
सानो पसलबाट शुरू गरेर अमृता अहिले मिनी मार्ट सञ्चालन गर्न सफल भएकी छिन् । उद्यमशीलताका सिँढी चढिरहँदा उनी विगतका ती दिन बिर्सन्नन् । किनकि यो अवस्थामा आइपुग्न उनको सोच, सपना र संघर्ष सानो छैन । देख्नेहरूले आज उनलाई सफल महिला उद्यमीको रूपमा पाउँछन् । तर २ दशक अघिसम्म यो उनको कल्पना बाहिरको कुरा थियो । किनकि पसल शुरू गर्नुअघि तरकारीखेती गरेर विक्रीका लागि कोटेश्वर, चाबहिल र त्रिपुरेश्वरसम्म पुग्नुपर्ने उनको बाध्यता थियो । तर स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कर्जा सहयोग, वित्तीय सचेतना र श्रीमान् तथा परिवारको साथ पाएपछि उनको व्यवसायलाई सफलताले पछ्याएको हो ।
व्यवसायमा यस्तो छ उनको सफलता :
हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्ट