काठमाडौं, २९ वैशाख । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालु आर्थिक वर्ष (आव)को ९ महिनामा यस्तो कर्जा २८ प्रतिशतले खुम्चिएको हो । सरकारको ब्याज अनुदान निकासा प्रवाहित भएपछि सहुलियतपूर्ण कर्जामा असर परेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बजारमा कायम सहुलियतपूर्ण कर्जा गत चैतसम्ममा २८ प्रतिशत अर्थात् ३५ अर्ब ४९ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत चैतसम्म आइपुग्दा घटेर ९१ अर्ब ३२ करोड रुपैयाँमा सिमित भएको छ ।
२०८१/८२ को चैतसम्म बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो क्षेत्रमा बजारमा कायम कुल अनुदानको ७१ दशमलव ३९ प्रतिशत अर्थात् ६५ अर्ब १९ करोड रुपैयाँ छ । यसैगरी महिला उद्यमशीलतातर्फ २४ अर्ब ८९ करोड, कपडा उद्योगतर्फ ८५ करोड र विदेशबाट फर्केका युवा परियोजनातर्फ १४ करोड रुपैयाँ ब्याज अनुदान कर्जा बजारमा कायम रहेको तथ्याङ्क छ ।