काठमाडौं, २९ वैशाख । दश वर्षअघि २०७२ सालको महाभूकम्पपछि उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका ८ अधिकारीको सम्झनामा काठमाडौंस्थित अमेरिकी दूतावास र नेपाली सेनाले श्रद्धाञ्जलि सभा गरेको छ ।
नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनको उपस्थितिमा ६ अमेरिकी सैन्य अधिकारी र २ जना नेपाली सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
‘अपरेसन सहयोगी हात’ अन्तर्गत उद्धार कार्यमा खटिएका ६ जना अमेरिकी मेरिन्स र २ जना नेपाली सैनिकले मानव सेवामा आफ्नो अमूल्य जीवन समर्पण गरेका थिए ।
काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘क्याप्टेन डस्टिन लुकासेविज, क्याप्टेन क्रिस्टोफर नग्र्रेन, सर्जेन्ट वार्ड जोनसन, सर्जेन्ट एरिक सिमन, कर्पोरल सारा मेडिना, लान्स कर्पोरल जेकब हग, मेजर तपेन्द्र रावल, र वारन्ट अफिसर प्रथम बसन्त तितरा — यिनीहरूले मानवताको सेवामा आफ्नो जीवन बलिदान गरे । हामी उनीहरूलाई सधैं सम्झना गरौं र उनीहरूको विरासतलाई सम्मान गरौं ।’
२०७२ सालमा गएको ७.८ म्याग्निच्यूडको महाभूकम्पमा परेर नौ हजारभन्दा बढीको ज्यान लिएको गएको थियो । यसबाट लाखौं मानिसहरू प्रभावित भएका थिए । भूकम्पलगत्तै राहत र उद्धारका लागि विभिन्न मुलुकले सहयोग गरेका थिए । सो क्रममा अमेरिकी सेना र नेपाली सेनाबीच संयुक्त उद्धार कार्य सुरु गरिएको थियो, जसलाई ‘अपरेसन सहयोगी हात’ नाम दिइएको थियो ।
दोलखामा भूकम्प पीडितको खोजी तथा उद्दारका लागि गएको अमेरिकी हेलिकप्टर २०७२ बैशाख २९ गते सम्पर्कविहिन भएको थियो । त्यसपछि कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ घोर्थलीको सिन्दूरे डाँडामा झण्डै ११ हजार २०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको थियो ।


