काठमाडौं, ३० वैशाख । पछिल्लो समय घरजग्गा क्षेत्र (आवासीय व्यक्तिगत तथा व्यावसायिक)मा कर्जा प्रवाह बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने यस्तो कर्जा ब्याजदर घट्न थालेसँगै माग पनि बढेको तथ्याङ्कले नै देखाउँछ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव)को ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा व्यक्तिगत आवासीय र घर जग्गा (रियल इस्टेट) कर्जा बढेको छ । गत चैतसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ८ दशमलव ६८ प्रतिशत बढी हो । २०८० को चैतसम्ममा २ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह भएको थियो ।
यसैगरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित घर जग्गा कर्जा ९ दशमलव ६२ प्रतिशतले बढेको छ । गत आवको ९ महिनामा २ खर्ब १४ अर्ब ४५ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह भएको थियो भने चालू आवको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ३५ अर्ब ८ करोड रुपैयाँ प्रवाह भएको तथ्याङ्क छ ।
गत चैतसम्ममा व्यक्तिगत आवासीयतर्फ सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले यस्तो कर्जा ४९ अर्ब ६६ करोड रुपैयाँ प्रवाह गरेको छ । यसपछि ग्लोबल आईएमई बैंक ३९ अर्ब ५१ करोड, राष्ट्रिय वाणिज्य २८ अर्ब २२ करोड र नबिल बैंकले २७ अर्ब ४३ करोड रुपैयाँ व्यक्तिगत आवासीयतर्फ कर्जा दिएको छ ।
सो अवधिमा घर जग्गा कर्जा धेरै प्रवाह गर्ने बैंक पनि एनआईसी एशिया नै रहेको छ । बैंकले यस्तो कर्जा २५ अर्ब ७० करोड रुपैयाँ प्रवाह गरेको छ । यसैगरी घर जग्गा कर्जा बढी प्रवाह गर्ने अन्य बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २५ अर्ब ३० करोड, नबिल बैंकले २४ अर्ब १ करोड र प्राइम कमर्सियल बैंकले २२ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कुन बैंकबाट कति कर्जा प्रवाह ?

स्रोत : नेपाल राष्ट्र बैंक