काठमाडौं, १ जेठ । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणमा आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले यस अघि ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ५८ हजार २०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बाँडफाँट गरेको थियो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा सर्वसाधारणले जेठ ९ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।
साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । निर्माणाधिन अवस्थामा रहेको यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिमलाई जनाउँछ ।