दिनमा ८ घण्टाबढि काम गर्नुहुन्छ ? हुन सक्छ यस्तो खतरा

अनलाइनसमय |
१ जेठ २०८२
दिनमा ८ घण्टाबढि काम गर्नुहुन्छ ? हुन सक्छ यस्तो खतरा

काठमाडौं, १ जेठ । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म कामको चाप । दिनभरको दौडधुप अनि मोबाइलमा आइरहने इमेल र म्यासेजको बाढी । आजको व्यस्त जीवनशैलीमा विश्राम भन्ने शब्द झन्डै लोप हुन थालेको छ । पद, पैसा, ‘प्रमोशन’ र सफलताको पछाडि दौडिँदा हामीले बिसिँदै गएका छौं, दिमागलाई पनि आराम चाहिन्छ ।

नयाँ अनुसन्धानले देखाएको छ– हप्तामा ५२ घण्टाभन्दा बढी काम गर्नु थकानको कारण मात्र होइन, मस्तिष्कको संरचना बिगार्ने खतरनाक अभ्यास समेत हो । धेरै काम गर्दा समस्या समाधान र स्मरणशक्तिसँग जोडिएको मस्तिष्कको भागमा असर पर्न सक्छ । साथै मानसिक स्वास्थ्यमा पनि समस्या देखिन सक्छ ।

यो अध्ययन प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल अकुपेशनल एण्ड इन्भाइरोन्मेन्टल मेडिसिनमा प्रकाशित भएको हो । अध्ययनमा दक्षिण कोरियाको योन्सेई विश्वविद्यालय सहितका अनुसन्धानकर्ताहरू संलग्न थिए । उनीहरूले ११० जना स्वास्थ्यकर्मीहरूको अध्ययन गरे । तीमध्ये ३२ जनाले हप्तामा ५२ घण्टाभन्दा बढी काम गर्थे भने बाँकी ७८ जनाले सामान्य कार्य घण्टा (४० घण्टा आसपास)मा सीमित थिए ।

अचम्मको कुरा त के भने बढी काम गर्नेहरू उमेरले जवान थिए, कम अनुभव तर बढी पढेलेखेका थिए । अनुसन्धानकर्ताहरूले मस्तिष्कको संरचना जाँच्न गर्न एम.आर.आई स्क्यान हेर्दा दिमागको संरचनामा नै परिवर्तन भएको पाइयो । उनीहरूले योजना बनाउने र निर्णय लिने मस्तिष्कका भागहरू पनि प्रभावित भएको फेला पारे ।

उक्त अध्ययनले अत्यधिक कामलाई व्यावसायिक स्वास्थ्यको समस्या ल्याउने कारकको रूपमा लिनुपर्ने औंल्याएको छ ।

व्यावसायिक सुरक्षा तथा स्वास्थ्य संस्थाकी नीति तथा सार्वजनिक मामिला प्रमुख रुथ विल्किन्सनले लामो कार्यसमय घटाउन तत्काल कदम चाल्नुपर्नेमा जोड दिइन् । संस्थाले गरेको सर्वेक्षणले देखाएको छ– बेलायतका लगभग एक चौथाइ कामदारले हप्तामा ४८ घण्टाभन्दा बढी काम गर्छन् । स्काई न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस