काठमाडौं, १ जेठ । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सिआओ चीसहितको चिनियाँ टोलीले भेट गरेको हो ।
भेटमा जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबिचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीनले तत्पर रहेको बताए । उनले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच लामो समयदेखि मित्रवत र समस्यारहित एवम् हार्दिक सम्बन्ध रही आएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्ररूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रशन्न रहेको बताए ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
