यी हुन् नेपालको व्यापार बचत र घाटामा रहेका प्रमुख १० मुलुक

अनलाइनसमय |
७ जेठ २०८२
यी हुन् नेपालको व्यापार बचत र घाटामा रहेका प्रमुख १० मुलुक

काठमाडौं, ७ जेठ । चालूु आर्थिक वर्ष (आव) २०८१/८२ को १० महिनासम्ममा नेपालले १६३ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ३५ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको बैशासम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि अफगानस्तान छ । सो अवधिमा नेपाल अफगानस्तानसँग ६८ करोड ६४ लाख रुपैयाँभन्दा बढीको बचतमा छ । वैशाखसम्ममा नेपालले अफगानस्तानतर्फ ७१ करोड ४७ लाख मूल्य भन्दा बढीको वस्तु निर्यात गरेको छ भने २ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

अफगानस्तानपछि नेपाल डेनमार्कसँग सबैभन्दा धेरै बचतमा छ । चालू आवको वैशाखसम्ममा नेपालले डेनमार्कतर्फ ५७ करोड ८२ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ३१ करोड ८४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, अर्थात डेनमार्कसँगको व्यापारमा नेपाल २५ करोड ९७ लाख रुपैयाँले बचतमा छ ।

नेपालको व्यापार बचतमा रहेको तेस्रो मुलकका रुपमा रुस रहेको छ । चालू आवको १० महिनासम्ममा नेपाल रुससँग ५ करोड ९२ लाख रुपैयाँको बचतमा छ । सो अवधिमा नेपालले रुसतर्फ १६ करोड ४४ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा त्यहाँबाट १० करोड ५१ लाख मूल्य बराबरको वस्तु नेपाल ल्याइएको छ ।

त्यस्तैनेपाल आइसल्याण्डसँग २ करोड १२ लाख, लाओससँग २ करोड २ लाख, मालदिभ्ससँग १ करोड ५८ लाख र अष्ट्रियासँग १ करोड ४४ लाख रुपैयाँ बराबरको व्यापार बचतमा रहेको तथ्याङ्कमा उल्लेख छ

यसैगरी चालू आवको वैशाखसम्ममा १६३ मुलुकसँग व्यापार गरेको नेपालले १२८ सँग घाटा बेहोरेको छ । नेपालले बेहोरेको कुल व्यापार घाटामध्ये छिमेकी मुलक भारतसँग मात्रै ५६ दशमलव ०७ प्रतिशत रहेको छ । वैशाखसम्ममा नेपालले भारतबाट ८ खर्ब ८० अर्ब ५२ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ १ खर्ब ७६ अर्ब करोडको वस्तु निर्यात गरेको छ, अर्थात भारतसँग मात्रै नेपालले ७ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

भारत पछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । चालू आवको वैशाखसम्ममा नेपाल चीनसँग २ खर्ब ७४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले चीनतर्फ २ अर्ब ३९ करोड ९ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने २ खर्ब ७७ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ ।

यस्तै यस वर्षको १० महिनामा नेपालले अर्जेन्टिनासँग ७२ अर्ब १३ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ भने युक्रेनसँग २२ अर्ब ९० करोडको व्यापार घाटामा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस