काठमाडौं, ९ जेठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गरेकी छन् ।
टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।
मन्त्री डा राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनःनिर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरेकी थिइन् ।
भेटमा उनीहरूबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि कुराकानी परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।