काठमाडौं, ०९ जेठ । सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुला गर्ने नीति तर्जुमा गर्ने भएको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्न सिफारिस सरकारले गरेपछि एक वर्षभित्र आवश्यक कानुनी तथा नीतिगत तयारी गरिने कार्ययोजना बनाएको हो ।
उक्त काम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा अघि बढाइनेछ ।
यसका लागि प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा बनेको कार्यान्वयन समितिले आयोगको सुझावलाई मूर्त रूप दिन वैदेशिक लगानी खोल्ने दिशामा कार्ययोजना अघि बढाइसकेको छ ।
सरकारले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, आधुनिकता, पुँजी र व्यवस्थापनको प्रवाहमार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यसहित यो कदम चालेको हो । यो निर्णयले कृषिक्षेत्रमा दीर्घकालीन रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ ।