काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत भएको छ । गभर्नर विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरेका छन् ।
भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सरुवा गरिएको हो । राष्ट्र बैंकको यो कार्यालय प्रकाश श्रेष्ठले सम्हाल्दै आएका थिए । अहिले राष्ट्रिय योजना आयोगको सदस्य रहेका श्रेष्ठको अवकाश भइसकेको छ । श्रेष्ठले अवकाश पाएसँगै भट्टलाई उक्त कार्यालयको जिम्मेवारी दिइएको हो ।
भट्ट गभर्नरको सरुवा भएसँगै कार्यालय ल्याएपछि रिक्त रहेको अनुसन्धान विभागको नेतृत्व डा. रामशरण खरेललाई दिइएको छ । यसअघि मानव संशाधन विभागमा रहेका खरेललाई अनुसन्धान विभागमा ल्याएपछि खाली भएको विभागको जिम्मेवारी कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ ।
यस अघि नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्कीकृत नगर्दा भट्ट गभर्न बन्न रोकिएका थिए । प्रतिस्पर्धी रोक्ने नियतले नीलमले भट्टको राजीनामा पूर्णगभर्नर आएपछि मात्रै निर्णय हुने बताउँदै आएकी थिइन् ।
भट्टको राजीनामा अस्वीकृतसँगै गभर्नर नियुक्ति प्रक्रिया गिजोलिएको थियो । त्यही क्रममा भट्टको विकल्पमा पौडेल गभर्नर नियुक्त भएका हुन् ।