काठमाडौं, १४ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।
भेटमा ऊर्जामन्त्री खड्काले एमसिसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसिसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए ।उनले एमसिसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे ।
तयसको जवाफमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसिसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनले बताए ।
भेटमा एमसिसी तथा एमसिएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । तस्बिरः रासस