काठमाडौं, १९ जेठ । विश्व बैंकले नेपालका दुई वटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर (३५ अर्ब २७ करोड रुपैयाँ बराबर) ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकले एक विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिंचाइ सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण स्वीकृत गरेको जनाएको हो ।
यसमध्ये, विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड २० लाख अमेरिकी डलर ( १६ अर्ब ४६ करोड रुपैयाँ बराबर) ऋण सुविधा लिइएको छ । उक्त रकमबाट कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने यस परियोजनाले नयाँ सबस्टेशन निर्माण, पुराना संरचनाको स्तरोन्नति र त्यसकोे निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको जनाइएको छ ।
त्यस्तै, रानी जमरा कुलरिया सिंचाइ आयोजनाको तेस्रो चरणका लागि १३ करोड ७० लाख अमेरिकी डलर (१८ अर्ब ८० करोड रुपैयाँ बराबर) ऋण स्वीकृत भएको छ ।
यस परियोजनाले सुदूरपश्चिम प्रदेशको कैलालीमा थप १७ हजार ५०० हेक्टर क्षेत्रमा वर्षैभरि सिंचाइ सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ । यसबाट १ लाख ६० हजारभन्दा बढी किसान लाभान्वित हुने छन् । जलस्रोत तथा सिंचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा सञ्चालन गर्ने यो योजनाले कृषि उत्पादनमा वृद्धि र जलवायु अनुकूलता बढाउनेछ ।
‘निरन्तर बिजुली आपूर्ति र पर्याप्त सिँचाइ सेवा नेपालको दिगो विकासको लागि आधारभूत हुन्,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेनले भने, ‘यी परियोजनाहरूले जलविद्युत्मार्फत स्वच्छ ऊर्जा प्रवद्र्धन गर्नुका साथै किसानहरूलाई एकीकृत कृषि सहयोग सेवा प्रदान गरी जलवायु तथा विपद् जोखिमसँग जुध्न सक्ने क्षमता पनि विकास गर्नेछ । परियोजनामा सम्बन्धित निकायहरूको क्षमता अभिवृद्धि गर्ने र संरचनाको दीगो व्यवस्थापनका लागि नविनतम उपायहरू अपनाउने योजना पनि समावेश गरिएको छ ।’