वैदेशिक अध्ययन : विद्यार्थीसँगै बाहिरियो १ खर्ब १२ अर्ब

अनलाइनसमय |
२७ जेठ २०८२
वैदेशिक अध्ययन : विद्यार्थीसँगै बाहिरियो १ खर्ब १२ अर्ब

काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो १० महिनामा वैदेशिक अध्ययनका लागि मात्रै करिब सवा १ खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आवको वैशाखसम्मको वित्तीय तथ्याङ्क अनुसार अनुसार उच्च शिक्षाका लागि विदेशी मुलुक जाने नेपाली विद्यार्थीमार्फत १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ८ दशमलव ३३ प्रतिशतले बढी हो । आव २०८०÷८१ को वैशाखसम्ममा शिक्षातर्फको भ्रमण व्यय १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ थियो ।

शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १७.९ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा यस्तो खर्च १ खर्ब ५६ अर्ब ९५ करोड रहेको थियो ।

विदेश अध्ययनसँगै अन्य पर्यटन खर्चसमेत बढेकाले देशको सेवा खाता थप घाटामा गएको छ । चालू आवको वैशाखसम्ममा सेवा खाता ८६ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय रु.६९ अर्ब ७३ करोड रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस