पाँच प्रदेशमा फैलियो मनसुन, कोशी, बागमती र गण्डकीमा भारी बर्षाको सम्भावना

अनलाइनसमय |
३० जेठ २०८२
पाँच प्रदेशमा फैलियो मनसुन, कोशी, बागमती र गण्डकीमा भारी बर्षाको सम्भावना

काठमाडौं, ३० जेठ । हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।
गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा समेत भैरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ भने देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस वर्षको मनसुन प्रणाली बिहीबारदेखि कोशी प्रदेशको बाँकी भू–भाग, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा प्रवेश गरिसकेको विभागले जनाएको छ । नेपालमा यस वर्षको मनसुनको जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस