काठमाडौं, ३० जेठ । संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति गरेका छन् । भिजिट भिसा प्रकरणपछि निरन्तर अवरोध हुँदै आएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच २ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमतिमा सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि ठोस पहल गर्ने विषयमा सहमति जुटेको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित गत १३ जेठदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।
यस्तो छ दूई बुँदे सहमति :
१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अस्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अस्तिवार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानविनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।
२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन । रास्वपाको भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ ।
कांग्रेस एमालेसँग दुई बुँदे सहमति गरेपछि प्रचण्डले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताएका छन् । रास्वपासँग विमति पनि नभएको र आरोप प्रत्यारोप पनि नहुने बताए । ‘उहाँहरुको केही अडानका कारणले सहमति भएन । तर, हाम्रो बीचमा विमत्ति र आरोपप्रत्यारोप हुँदैन,’ उनले भने । आजबाट संसद् खुल्ने प्रचण्डले बताए ।