अमेरिकाभर ट्रम्पविरुद्ध प्रदर्शन, ‘नो किंग्स’ समूहको अगुवाइमा लाखौं सडकमा

अनलाइनसमय |
१ असार २०८२
अमेरिकाभर ट्रम्पविरुद्ध प्रदर्शन, ‘नो किंग्स’ समूहको अगुवाइमा लाखौं सडकमा

काठमाडौं, १ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डिसीमा आयोजना गरेको सैनिक परेडविरुद्ध अमेरिकाका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शन गरिएको छ । ‘नो किंग्स’ नामक आन्दोलनको अगुवाइमा आयोजना गरिएका प्रदर्शनहरूमा लाखौं मानिस सहभागी भएका हुन् ।

वासिङ्टन डिसीमा शनिबार साँझ आयोजित सैनिक परेड अमेरिकी सेनाको २५०औं वार्षिकोत्सव तथा राष्ट्रपति ट्रम्पको जन्मदिनको अवसरमा आयोजना गरिएको थियो । तर यही परेडको प्रतिवादमा न्यूयोर्क, फिलाडेल्फिया, लस एन्जलस लगायतका सहरमा प्रदर्शनहरू भएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रदर्शनकारीहरूले ‘ट्रम्पले राष्ट्रपतिको शक्ति सीमाभन्दा बाहिर गएर शासन गरिरहेका छन्’ भन्ने आरोप लगाउँदै ‘नो किंग्स’ अर्थात् ‘हामी राजा चाहँदैनौं’ भन्ने नारासहित सडकमा उत्रिएको बीबीसीले जनाएको छ । विभिन्न शहरहरूमा सांसद, श्रमिक संघका नेता र सामाजिक अभियन्ताहरूले प्रदर्शनकारीलाई सम्बोधन गरेका थिए ।

लस एन्जलसमा सबैभन्दा ठूलो भिड देखिएको थियो । त्यहाँ आप्रवासन नीतिको विरोधमा पछिल्ला केही दिनदेखि विरोध भइरहेको छ । राष्ट्रपति ट्रम्पले गभर्नर ग्याविन न्यूसमको असहमति बाबजुद एक हप्ता अघि नेशनल गार्ड पठाएका थिए ।

शनिबार प्रदर्शनका क्रममा संघीय भवन नजिकै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भयो । भिड तितरबितर पार्न अश्रुग्याससमेत प्रहार गरिएको थियो । यद्यपि केही टाढा सयौं प्रदर्शनकारी शान्तिपूर्ण रूपमा नाराजुलुसमा सहभागी भएका थिए ।

लस एन्जलसमा प्रदर्शन गरिरहेका ‘ब्राउन बेरेस’ नामक नागरिक अधिकार समूहका सदस्य होसे एजेट्कलाले यो नीति अमानवीय भएको बताए ।

सैनिक परेडमा हजारौं वर्दीधारी सैनिक, ट्याङ्क, सैन्य सवारी साधन तथा ब्यान्ड समूह सहभागी थिए । राष्ट्रपति ट्रम्पले सैनिकहरूलाई सलामी दिँदै छोटो सम्बोधनमा भने, ‘हाम्रा सैनिकहरू कहिल्यै हार मान्दैनन्, उनीहरू लड्छन्, र सधैं जित्छन् ।’

यद्यपि पूर्व सैनिक अधिकारी र कतिपय राजनीतिज्ञहरूले परेडलाई महँगो ‘भव्यताको प्रदर्शन’ भन्दै आलोचना गरेका छन् । अमेरिकी सेनाका अनुसार परेडको खर्च २५ देखि ४५ मिलियन अमेरिकी डलर पर्ने अनुमान गरिएको छ । तर पूर्व भियतनाम सैनिक मेल्विन ग्राभ्सजस्ता सहभागीहरू भने यसलाई सैनिकको सम्मानका रूपमा हेर्ने दृष्टिकोण राख्छन् । ‘जब म युद्धबाट फर्किएँ, कुनै स्वागत थिएन, आजको यो परेड मेरो लागि त्यसको सट्टा हो,’ उनको भनाइलाई उद्वत गर्दै बीबीसीले लेखेको छ ।

ट्रम्पविरुद्धको यो सबैभन्दा ठूलो प्रदर्शन भए पनि हालैको सर्वेक्षण अनुसार उनका आप्रवासनसम्बन्धी नीतिहरू अमेरिकी जनताबीच अझै लोकप्रिय छन् । सीबीएसको सर्वेक्षण अनुसार ५४ प्रतिशत अमेरिकीले गैरकानुनी आप्रवासीहरूलाई निष्कासन गर्ने ट्रम्पको नीतिको समर्थन गरेका छन् भने ४६ प्रतिशतले असहमति जनाएका छन् । यस्तै ४२ प्रतिशत जनताले ट्रम्पको नीतिले आफूलाई सुरक्षित बनाएको महसुस गरेका छन् भने ५३ प्रतिशतले उक्त नीति खतरनाक आपराधिक आप्रवासीहरूमाथि केन्द्रित भएको ठानेका छन् ।

‘नो किंग्स’ आन्दोलन
ट्रम्पले राष्ट्रपतिको अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै ‘नो किंग्स’ अर्थात् ‘हामी राजा होइन, प्रतिनिधिमूलक शासन चाहन्छौं’ भन्ने सन्देश दिन खोजेको आन्दोलनका आयोजकहरूले बताएका छन् । अमेरिकाको इतिहासमा शक्तिको सन्तुलन र लोकतान्त्रिक मूल्यको रक्षा गर्न यो आन्दोलन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

ट्रम्पले भने परेडमा कुनै पनि अवरोध भए ‘गम्भीर कारबाही’ हुने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस