काठमाडौं, २ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभर अवैध आप्रवासीहरूको धरपकड र निष्कासन प्रक्रिया तीव्र पार्न संघीय निकायहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै अमेरिकाको इतिहासमै ‘सर्वाधिक ठूलो सामूहिक निष्कासन कार्यक्रम’ सञ्चालन गर्न आह्वान गरेका हुन् ।
ट्रम्पले लस एन्जलस, शिकागो र न्यूयोर्क जस्ता सहरहरूलाई प्रमुख लक्ष्य बनाउँदै संघीय एजेन्सीलाई सम्पूर्ण स्रोत साधन प्रयोग गरेर अभियान अघि बढाउन निर्देशन दिए । यिनै सहरहरूमा ६ जुन यता गैरकानुनी आप्रवासीमाथि भइरहेको धरपकडविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेका छन् ।
ट्रम्पको निर्देशनसँगै देशभरको राजनीतिक अवस्था झनै चर्केको बीबीसीले जनाएको छ । ‘नो किङ्स’ नामक समूहको आह्वानमा १४ जुनमा लस एन्जलसदेखि न्यूयोर्कसम्म प्रदर्शनहरू भएका थिए । त्यही दिन वाशिंगटन डीसीमा अमेरिकी सेनाको २५०औँ वार्षिकोत्सवका अवसरमा सैनिक परेडसमेत गरिएको थियो, जुन राष्ट्रपति ट्रम्पको ७९औँ जन्मदिन हो ।
‘तपाईंहरूलाई मेरो पूर्ण समर्थन छ, अब जानुहोस्, काम पूरा गर्नुहोस्,’ ट्रम्पले लागूऔषध नियन्त्रण प्रशासन र आप्रवासन तथा भन्सार प्रवर्तनलगायतका संघीय निकायहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘आन्तरिक शान्ति खल्बल्याउने जो–कोहीलाई प्रवेश रोक्ने छौं ।’
ट्रम्पको नयाँ निर्देशनले तथाकथित ‘स्यान्क्चुरी सिटी’हरूलाई थप दबाबमा ल्याएको बीबीसीले जनाएको छ । यस्ता सहरहरू संघीय आप्रवासन कानुनप्रति सहकार्य नगर्ने नीतिमा अडिग छन् । त्यहाँका अधिकारीहरूले गैरकानुनी आप्रवासीहरूलाई कानुनी संरक्षण दिनु आफ्नो संवैधानिक अधिकार भएको जिकिर गर्दै आएका छन् ।