रोजगारीका लागि ११ महिनामा साढे ७ लाख बढी नेपाली विदेशिए

अनलाइनसमय |
३ असार २०८२
रोजगारीका लागि ११ महिनामा साढे ७ लाख बढी नेपाली विदेशिए

काठमाडौं, ३ असार । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा साढे सात लाख भन्दा बढी नेपाली कामको खोजिमा विदेश गएका छन् ।
वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको जेठसम्ममा वैदेशिक रोजगारीका लागि ७ लाख ६० हजार ३९० जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ६३ प्रतिशतले बढी हो । गत आवको ११ महिनामा ६ लाख ६९ हजार १२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिलाहरु विदेश जाने क्रम बढ्दो देखिन्छ । एक वर्ष अवधिमा वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या २२ दशमलव ८८ प्रतिशतले बढेको छ । गत वर्षको ११ महिनामा ६९ हजार ३३८ महिलाले श्रम स्वीकृति लिएकोमा चालू आवको यसै अवधिमा ८५ हजार २६५ महिलाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । जेठमा मात्रै वैदेशिक रोजगारीमा जान ८ हजार १६५ महिलालले श्रम स्वीकृति लिएको विभागको तथ्यङ्कमा उल्लेख छ ।

यस्तै चालू आवको ११ महिनामा ६ लाख ७५ हजार १२५ पुरुषले विभागबाट श्रम स्वीकृति लिएर कामका लागि विभिन्न देशमा पुगेका छन्, जुन गत आवको जेठसम्मको तुलनामा १७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५ लाख ७७ हजार १२ पुरुषले श्रम स्वीकृति लिएका थिए । चालू आवको जेठमा मात्रै कामको लागि ६६ हजार ३०२ जना पुरुषले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

एक महिनामै करिब ४७ हजारले लिए नयाँ श्रम स्वीकृति

विभागका अनुसार जेठमा नयाँ श्रम स्वीकृति लिएर ४६ हजार ७१४ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला ५ हजार ८७५ र पुरुष ४० हजार ८३९ जना छन् ।

यस्तै संस्थागतबाट ३० हजार ९२२ पुरुष र २ हजार ७१६ जना महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । जेठमा व्यक्तिगततर्फबाट ८ हजार ८६९ पुरुष र ३ हजार ४५ महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फबाट पुनः श्रम स्वीकृति लिएर २७ हजार ७५३ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत १ हजार १७१ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।

नेपालीको आकर्षण युएईमा

विभागका अनुसार जेठमा रोजगारीका लागि १ सय ५ देशमा नेपाली श्रम स्वीकृति लिएर गएका छन् । विभिन्न देशमध्ये नेपालीको श्रम गन्तव्य सबैभन्दा धेरै यूएई रहेको छ । चालू आवको जेठमा मात्र २४ हजार ७०४ जनाले श्रम स्वीकृति लिएर यूएई गएका छन्, जसमध्ये २२ हजार ६६ पुरुष र २ हजार ६३८ महिला छन् । योसँगै ११ महिनामा यूएई जाने नेपालीको सङ्ख्या २ लाख ४७ हजार २४५ जना रहेको छ । अर्थात रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएकामध्ये ३२ दशमलव ५१ प्रतिशत युएईमा छन् ।

नेपाली युवा रोजगारीका लागि युएईपछि सबैभन्दा धेरै साउदी अरबमा गएका छन् । यस देशका लागि जेठमा मात्रै ११ हजार ९१९ पुरुष र ४२ महिलाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि ११ हजार ९१, मलेसिया जान ७ हजार २३० र कुवेतका ४ हजार ६३० जनाले श्रम स्वीकृति लिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस