काठमाडौं, ३ असार । उत्तर कोरियाको नयाँ युद्धपोत प्रक्षेपणकै क्रममा समुद्रमा पल्टिएको घटना संसारभर चर्चाको विषय बनिरहेको छ । जहाजमा मानवीय क्षति नभए पनि उक्त घटनाले नेता किम जोङ उनको आक्रोश र शासनशैली पुनः उजागर गरेको हो ।
गत महिना भएको उक्त घटनामा ५ हजार टन क्षमताको युद्धपोत सिधै समुद्रमा प्रवेश गराउने क्रममा असफल भई डुब्दा, किमले यसलाई ‘राष्ट्रको गरिमा माथिको आक्रमण’ भन्दै ‘अक्षम्य आपराधिक गल्ती’को संज्ञा दिएको बीबीसीले लेखेको छ । पछि चार जना उच्च अधिकारीहरू पक्राउ गरिए र तत्काल मर्मतको आदेश दिइयो ।
विशेषज्ञहरूका अनुसार यति ठूलो युद्धपोत निर्माणका क्रममा प्राविधिक चुकबाट जहाज पल्टनु अत्यन्त लाजमर्दो विषय हो । तर उत्तर कोरियाले उक्त जहाजलाई केवल २३ दिनमै मर्मत गरी पुनः समुद्रमा उतारेको छ ।
सियोलस्थित उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्राध्यापक किम डोङ युप भन्छन्, ‘यो केवल प्राविधिक सफलता मात्र होइन, राजनीतिक सन्देश पनि हो-कठोर नेतृत्व, तुरुन्त सुधार अनि राष्ट्रप्रतिको निष्ठा ।’

किम जोङ उनले लामो समयदेखि आणविक क्षमतायुक्त नौसेना बनाउने अभियान चलाएका छन् । यद्यपि उत्तर कोरियासँग केही पुराना पनडुब्बी र साना जहाजहरू छन् । उनीहरूको प्रतिस्पर्धा दक्षिण कोरिया, जापान र अमेरिकाको अत्याधुनिक नौसेनासँग हुन सक्दैन ।
नयाँ युद्धपोतहरू-एक अप्रिलमा सफलतापूर्वक प्रक्षेपण भइसकेको र अर्को हाल मर्मतपछि पुनः प्रक्षेपित-उत्तर कोरियाली नौसैनिक विस्तारको मुख्य हिस्सा बन्न थालेका छन् ।
युद्धपोत पल्टिएको समाचार किमको उपस्थितिमा सार्वजनिक हुनुलाई केहीले शर्मको रूपमा लिए पनि विश्लेषकहरू यसलाई रणनीतिक कदम मान्छन् ।
स्टिमसन सेन्टर, वाशिङ्टनकी उत्तर कोरियाली प्रचारबारे विज्ञ रेसल मिनयोङ ली भन्छिन्, ‘पहिला उत्तर कोरियाले गल्ती लुकाउँथ्यो, अब तिनीहरू गल्तीलाई देखाएर कसरी सुधार गरियो भन्ने सन्देश दिन्छन् ।’
किमले प्रक्षेपणका क्रममा ज्यान गुमाएका एक श्रमिकलाई ‘रगत र पसिना बगाएर राष्ट्रको सेवामा समर्पित’ भन्दै नायकका रूपमा सम्मानित गरे । यसबाट जनतामा समर्पण र निष्ठाको भावना थप सुदृढ पार्ने रणनीति अपनाइएको बुझिन्छ ।
‘मानिसहरू यो घटनालाई हेरेर हाँस्न सक्छन्, तर उत्तर कोरियाको प्रगति डर लाग्दो छ, उनीहरू केवल आफ्नो जलसीमा सीमित रहन चाहँदैनन्अ-हिलेको लक्ष्य, विश्व सागरमा आणविक शक्तिसहित उपस्थिति जनाउनु हो,’ सेवानिवृत्त दक्षिण कोरियाली नौसेना कप्तान चोई इल भन्छन्, ‘हामी सतर्क हुनुपर्छ र तदनुसार तयारी गर्नुपर्छ ।’
डुबेको युद्धपोत मात्र होइन, उत्तर कोरियाको नयाँ शासनशैली, कडा अनुशासन र प्रचार रणनीतिले पनि संसारभरको ध्यान तानेको छ ।