सुदूरपश्चिम प्रदेशको उद्योग क्षमता उपयोग करिब ३६ प्रतिशत

अनलाइनसमय |
५ असार २०८२
सुदूरपश्चिम प्रदेशको उद्योग क्षमता उपयोग करिब ३६ प्रतिशत

काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग करिब ३६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ३५ दशमलव ७९ प्रतिशत रहेको छ । यो दर्ता भएको १३ यद्योगमध्ये नमुना छनौटमा समेटिएका १२ उद्योगको औसत क्षमता हो ।

समीक्षा अवधिमा तोरीको तेल र कंक्रिट उत्पादन गर्ने उद्योगको तुलनात्मक रुपमा बढी क्षमता उपयोग भएको देखिएको छ । चामल, गहुँको पिठो, चिनी, साबुन र ईट्टाको उत्पादन गर्ने उद्योगको औसत क्षमता उपयोग भएको छ भने रोजिन उत्पादन गर्ने उद्योगको क्षमता उपयोग शुन्य रहेको छ ।

यस्तै कच्चा पदार्थको कमी तथा खोटो संकलनमा भएको ढिलाईका कारण रोजिनको उत्पादन शुन्य रहेको छ । अध्ययनमा समेटिएका उद्योगहरुमा प्रत्यक्ष रोजगारी १ हजार ४ सय ५३ जना रहेको छ । नमुना छनौटमा परेका उद्योगहरुमा आवद्ध महिला तथा पुरुषको अंश क्रमशः ९ दशमलव ०२ प्रतिशत र ९० दशमलव ९८ प्रतिशत रहेको छ भने २१ दशमलव ९५ प्रतिशत विदेशी नागरिकहरुले समेत रोजगारी पाईरहेका छन् ।

                        स्रोत : नेपाल राष्ट्र बैंक

समीक्षा अवधिमा ईट्टाको उत्पादनमा १५० प्रतिशतले वृद्धि भएको छ भने अन्य सबै उद्योगहरुको उत्पादनमा कमी आएको छ । उक्त उद्योगहरुमा तोरीको तेल ८६ दशमलव ३३ प्रतिशत, चामल २१ दशमलव ३७ प्रतिशत, गहुँको पिठो ३९ दशमलव ८० प्रतिशत, चिनीे ७ शदमलव ३४ प्रतिशत र साबुनको ६६ दशमलव ८० प्रतिशतले उत्पादन ह्रास भएको छ ।

यस्तै व्यापारिक गतिविधिमा आएको सुस्तता, कच्चा पदार्थको कमी, माग बढ्न नसक्नु लगायतका कारणले वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग घटेर उत्पादनमा ह्रास आएको देखिन्छ ।

क्षेत्रगत औद्योगिक कर्जा
२०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा १ दशमलव ३२ प्रतिशतले घटेर २५ अर्ब २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा ६ दशमलव १८ प्रतिशतले घटेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६ दशमलव ४८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्ममा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ३८ दशमलव ६५ प्रतिशत रहेको छ भने खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जाको अंश सबैभन्दा कम शून्य दशमलव ५३ प्रतिशत रहेको छ ।

२०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ भने खानी सम्बन्धी कर्जामा ४० दशमलव ३४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस