काठमाडौं, ६ असार । इरानले इजरायली आक्रमण नरोकिएसम्म अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नहुने बताएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले यसबारे सरकारी समाचार संस्था इरानमार्फत प्रतिक्रिया दिएका हुन् ।
‘अमेरिकीहरू वार्ता चाहन्छन् र धेरै पटक सन्देश पठाएका छन्, तर हामीले स्पष्ट रूपमा भनेका छौं आक्रमण बन्द नभएसम्म वार्ताको लागि कुनै ठाउँ छैन,’ उनले भनेका छन् ।
उनले अमेरिकालाई इजरायली आक्रमणमा ‘अपराधको साझेदार’ भन्दै आलोचना गरे ।
इरानले इजरायलको पछिल्लो सैन्य कारबाहीलाई मध्यपूर्वमा तनाव बढाउने योजनाबद्ध प्रयासको संज्ञा दिँदै आएको छ । अराघची आज जेनेभामा युरोपेली मुलुकका विदेशमन्त्रीहरूसँग भेटघाट गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ । इजरायल–हमास युद्ध सुरु भएपछि पश्चिमी मुलुकहरूसँग इरानको यो पहिलो प्रत्यक्ष वार्ता हो ।
विश्लेषकहरूले इरानको कडा धारणा अमेरिकासँगको संभावित परमाणु सम्झौताको वार्ता प्रक्रिया जटिल बनाउने संकेतका रूपमा लिएका छन् ।