युएईसँगको व्यापार : आयातसँगै घट्दै छ व्यापार घाटा

अनलाइनसमय |
११ असार २०८२
युएईसँगको व्यापार : आयातसँगै घट्दै छ व्यापार घाटा

काठमाडौं, ११ असार । विगतका वर्षमा संयुक्त अरब इमिरेट्स (युएई) सँग नेपालले आयात बढी र निर्यात कम गरिरहेको अवस्थामा पछिल्ला चार वर्ष यता निर्यात बढाउँदै लगेर आयात भने घटाउँदै लगेको छ । जसअनुसार युएईसँग नेपालको व्यापार घाटा समेत क्रमशः घट्दै गएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ को जेठसम्ममा युएईबाट नेपालले ४३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने ४३ करोड ८ लाख रुपैयाँको भएको थियो । यस अवधिमा व्यापार घाटा ४३ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ पुगेको थियो ।

त्यसपछिका वर्षमा निर्यातमा आएको वृद्धि र कम आयात हुँदा व्यापार घाटा समेत सुधार हुँदै आएको देखिन्छ । आव २०७९/८० को जेठसम्ममा नेपालले युएईतर्फ गर्दै आएको निर्यात झण्डै दोब्बरले बढेको थियो । यस वर्ष नेपालले युएईमा ८३ करोड ८५ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव ६३ प्रतिशतले बढी हो । आव २०७९/८० को ११ महिनामा नेपालले आयात ३९ दशमलव २० घटाएर ३१ अर्ब ५८ करोड ६४ लाख रुपैयाँमा झरेको थियो ।

विभागका अनुसार आव २०८०/८१ को ११ महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा निर्यात १८९ दशमलव ५८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ पुगेको थियो । आयात २८ अर्ब ४८ करोडमा सीमित भएको थियो ।

त्यस्तै, चालू आवको २०८१/८२ मा नेपालले युएईतर्फ २ अर्ब ६२ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ भने युएईबाट २ अर्ब ४८ करोडको वस्तु आयात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस